Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 

खराब वा विग्रिएको व्यवहारलाई भ्रष्टाचार र त्यस्तो व्यवहार गर्नेलाई भ्रष्टाचारी भनिन्छ। जनजिभ्रोमा घुस खाने कामलाई भ्रष्टाचार भन्ने गरेको पाईन्छ। भ्रष्टाचारका कैयन् प्रकार मध्ये घुस खानु एउटा प्रकार हो। यो नै बढी चलनचल्तीमा आउनुमा सामाजिक मनोविज्ञानको ठूलो हात छ। सामाजिक मूल्यको दृष्टिकोणबाट अन्य बस्तुको भन्दा पैसाको महत्व बढी भएको हुँदा पैसाको माध्यमबाट गरिने भ्रष्टाचार प्रचलित भएको हो। अन्यथा मूल्य, मान्यता, नैतिकता, व्यवहार, धर्म, कानुन आदिले वर्जित वा निरुत्साहित गरेको कुनै पनि काम गर्नु भ्रष्टाचार हो। उदाहरणका लागि एउटा मुसलमानले रक्सी खानु, एउटा हिन्दुले गाईको मासु खानु पनि भ्रष्टाचार हो धार्मिक वा नैतिक भ्रष्टाचार। तर यसको व्याख्या वा असर मुद्रा (पैसा) को माध्यमबाट नहुने हुँदा द्रव्यपिचासको वाहुल्य भएको समाजमा त्यस्ता प्रकृतिका भ्रष्टाचारलाई महत्व वा स्थान नदिइएको मात्र हो। तर वास्तवमा यस्तै अदृष्य प्रकारका भ्रष्टाचारले समाज प्रणालीलाई बढी जर्जर पारिरहेको हुन्छ। देखिएको भ्रष्टाचार त छाला बाहिर देखिएको पिलो जस्तो मात्र हो जुन चाहेको बेला निचोरेर फाल्न सकिन्छ। तर अदृष्य र अप्रत्यक्ष भ्रष्टाचार त शरिरभरी फैलिएको विष जस्तो हो न सर्वसाधारणले देख्न सक्छ न त तुरुन्त निकालेर फाल्न सकिन्छ। विशेष ज्ञान, साधन, समय, धैर्यता र पीडा सहन सक्ने क्षमता भए मात्र त्यसलाई हटाउन सकिन्छ।

श्रीमतीको नाममा बैंक खातामा रकम जम्मा गर्न लगाएर एउटा उच्च पदस्थ अधिकारीले चलन चल्ती भन्दा बढी लाभ हुने काम प्रकृया नपुर्‍याई कुनै व्यक्ति वा संस्थालाई दिनु हामी सबैले देख्दै, सुन्दै, भोग्दै, आएको ठाडो भ्रष्टाचार हो। भ्रष्टाचार कति प्रकारका हुन्छन् भन्ने कुनै निश्चितता छैन। यसबाट उत्पन्न असर वा नोक्सानको मात्रा, त्यसबाट प्रभावित व्यक्ति, समाज वा राज्य, भ्रष्टाचार गर्न प्रयोग गरेको तौर तरिका वा माध्यम, त्यसवापत लिएको अनुचित प्रतिफलको प्रकृति आदिका आधारमा हेर्ने हो भने भ्रष्टाचार अनगिन्ति प्रकारका हुन्छन् । प्रत्यक्ष – अप्रत्यक्ष, ठूलो – सानो, तत्काल – दिर्घकाल, सकृय – निस्कृय, राष्ट्रिय – अन्तर्राष्ट्रिय, आर्थिक – भौतिक, नीतिगत – व्यवहारगत, हाकाहाकी – लुकीछिपी, नीजी – सामुहिक, ससक्त–सुस्त, जानीजानी – अन्जानमा, स्वेच्छिक – जर्वजस्ती, राज्यविरोधी – व्यक्तिविरोधी, व्यापक – संकुचित आदि – आदि धेरै प्रकारका हुन्छन्। अनगिन्ति प्रकार र तरीकाका भ्रष्टाचार हुन्छन्। यी मध्ये पछिल्लो समयमा नीतिगत भ्रष्टाचार ज्वलन्त रुपमा पंञ्जा फैलाउँदै छ हाम्रो समाजमा। यो यस्तो प्रकारको भ्रष्टाचार हो जसमा नीति निर्माणमा बस्नेले वा बसाउनेले आफू, आफ्ना मान्छे, आफूलाई आजै वा दिर्घकालमा लाभ हुनेगरी नीति, कार्यक्रम, योजना, नियम कानुन बनाई राज्य र जनतालाई चुस्दछन् र यो कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ। उच्च ओहदामा बस्नेले आर्थिक उथल पुथल हुने गरी ठूलो रकम हिनामिना गर्नु मात्र भ्रष्टाचार हो भनी बुझ्नु हुँदैन। घुसखोरी र भ्रष्टाचारलाई पर्यायवाची शब्दका रुपमा हेर्ने गरेको हुँदा यस्तो लाग्दछ। घुसखोरी त भ्रष्टाचारको एउटा प्रकार मात्र हो। भ्रष्टाचारलाई बरु अख्तियार दुरुपयोगको पर्यायवाची मान्न सकिन्छ। हुनेलाई रिस गर्ने, र आकार वा संख्या ठूलो भए मात्र त्यसलाई महत्व दिने संस्कारका कारण यस्तो सोच विकास भएको मात्र हो। परिचित र नातागोताकालाई लाइनमा नबसी वा लाइन मिचाएर सेवा उपलब्ध गराउनु पनि भ्रष्टाचार हो। तर त्यसको तत्काल आर्थिक प्रभाव नदेखिने हुँदा त्यसबारे चर्चा हुँदैन र दण्डित पनि गरिदैन।

सरकारी, गैह्रसरकारी, अर्धसरकारी, निजि कुनै क्षेत्र पनि भ्रष्टाचारबाट मुक्त छैन। सबै क्षेत्रका व्यक्तिले आफूले भ्रष्टाचार पनि नगर्ने र अरुलाई गर्न र गराउन प्रेरित नगर्ने र गर्नेलाई निरुत्साहित गर्ने गर्नु पर्दछ। भ्रष्टाचार राष्ट्रिय – अन्तर्राष्ट्रिय दुवै स्तरमा हुन्छ। स्वदेश र विदेशमा अनि विकसित र अविकसित दुवै देशमा हुन्छ। साधारणतया गरीब मुलुकमा साना – साना आकारका धेरै संख्यामा भ्रष्टाचार हुन्छ भने धनी / ठूला राज्यमा ठूलो आकारमा कम संख्या वा घटना हुन्छन्। व्यवस्था, प्रणाली र कानुन तथा त्यसको कार्यान्वयनको अवस्थाले गर्दा यसो हुने गर्दछन्। सुशासन आन्तरिक नियन्त्रण, सूचना प्रविधिको प्रयोग, जिम्मेवारी र उत्तरदायित्व जस्ता कारणहरुले गर्दा विकसित मुलुकमा खुजुरा भ्रष्टाचार कम हुन्छन्। एउटा भ्रष्टाचारलाई अन्तिम रुप दिन धेरै चरण पार गर्नु पर्दछ र त्यसमा धेरै व्यक्तिहरु सावधानी र चतुरताका साथ संलग्न हुनु पर्ने हुन्छ, जुन आफैमा समय र खर्चको हिसाबले महंगो पर्न जान्छ। तसर्थ धनी मुलुकमा साना भ्रष्टाचार कम हुन्छन्। एउटा पत्र चलान गर्न एक डलर घुस खुवाउनु पर्ने अवस्था धनी मुलुकमा छैनन्। तर इनरोन, सत्यम कम्प्युटर जस्ता विश्वविख्यात ठूला भ्रष्टाचार त भइरहेकै छन्। साना – साना भ्रष्टाचार धेरै संख्यामा भइरहने हुँदा गरीब देशमा सर्वसाधारणलाई आफ्नो न्युनतम प्रशासनिक तथा अन्य सेवा प्राप्त गर्न पनि असाध्यै गाह्रो हुन्छ। काम कार्वाहीमा ढीला सुस्तीको कारण यो पनि हो। सेवा ग्राहीले घुस नदिने मनस्थितिलाई घुस दिन स्विकार गर्ने अवस्था सम्म पुर्‍याउन र त्यसपछि कति घुस दिने निर्णय गर्न समय लाग्छ। यसरी समय लाग्न जाँदा असल शासनमा नकारात्मक प्रभाव पर्छ र कार्यसम्पादकको दक्षता पनि ह्रास हुँदै जान्छ।

कसले, कसलाई, कहिले, किन, कसरी, कति, कहाँ के गर्न हुन्छ वा पर्छ त्यो नगर्नु वा गर्न नहुने गर्नु नै भ्रष्टाचार हो। यो एउटा कृया हो। हरेक कृयाको पछाडि कारण र अगाडि त्यसको नतिजा जोडिएको हुन्छ। भ्रष्टाचार गर्नुका धेरै कारण हुन सक्छन्। त्यस मध्ये सामाजिक मनोविज्ञान पनि एउटा कारक तत्व हो। हरेक व्यक्ति भित्र स्वभाविक रुपमा लुकेको ठूलो, राम्रो, प्रतिष्ठित, बलियो, उच्च बन्ने अभिलाषा र कस्तो व्यक्तिलाई ठूलो, राम्रो, प्रतिष्ठित, बलियो, उच्च मान्ने भन्ने सामाजिक मूल्य प्रणाली र यी दुई वीचको अन्तरसम्वन्ध नै भ्रष्टाचारको एउटा कारक हो। अझ हाम्रो जस्तो मुलुकमा त यसको ठूलो भुमिका छ। धन कमाउनेलाई राम्रो मान्छे मान्ने सोचाइ त संस्कारकै रुपमा विकास भईसक्यो। एकाध व्यक्तिले मानसिक विकृतिका कारण गर्ने भ्रष्टाचार संस्कारकै रुपमा विकास भए पछि त सबैले गर्न मिल्ने भयो नि। त्यसैले त वार्षिक डेढ् दुई लाख तलब खाने व्यक्तिले पाँच वर्षकै सेवा अवधिमा 'क' श्रेणीको जीवनस्तर बाँचेर पनि २–४ करोडको सम्पत्ति जोडेको विषय उसका आमा – बुबा, मामा – माइजु, सासु – ससुरालाई एउटा गर्वको विषय बन्न पुग्छ। यहि नै ठूलो विडम्बना हो। ट्युसन पढाउने समय पनि सरकारी स्कुल, क्याम्पस मै खर्च गरी विद्यार्थीलाई उँभो लगाउन तल्लिन शिक्षकको सानो झुपडी कै सामुन्ने आलिसान महलमा बस्ने भ्रष्टाचार गरी कमाएको धन – दौलतको बुइ चढी प्रतिष्ठित कहलाएको व्यक्तिले उसलाई निरिह सावित गरिदिन्छ। द्रव्यको मूल्य दिनानुदिन बढ्दै गएको अवस्थामा त झन् यो सास्वत हुँदै गएको छ। सवैमा यो सिद्धान्त लागु नहुन सक्छ। तर अधिकांसमा व्याप्त छ। हुनेलाई ठूलो मान्ने संस्कारको उपज हो यो।

कृया र कारणको कुरा त भयो अव त्यसको नतिजा र निराकरणको कुरा गरौँ। नतिजा त गजवको छ, भ्रस्टाचारीलाई जेल सजाय, जरीवाना, सर्वस्वहरण, सामजिक वाहिस्कार हुनु पर्ने हो तर हामी कहाँ उल्टो नतिजा निस्कन्छन्। विग्रिएको अस्तव्यस्त प्रयोगशालाको बिग्रिएको उपकरणले निकालेको रगत परीक्षणको गलत प्रतिवेदन जस्तै। घुस्याहा नै सर्वत्र पुरस्कृत भएका छन्। हामी सर्वसाधारणको दोष छ यसमा। हामीले नै संस्कार बदल्नु पर्छ। सकारात्मक उद्देश्यका साथ घुस्याहालाई निरुत्साहित र बहिस्कार गर्ने अनि कानुन कार्यान्वयन गर्ने निकायलाई दण्ड सजायका लागि घच्घच्याउने गर्नु पर्दछ। घुस्याहाको प्रसंसामा खर्चेको समय बहिस्कारमा लगाउनु पर्छ। पृथ्वि नारायण शाहले पनि घुस दिने र लिने दुबैलाई अपराधी भन्ने नाम दिएका छन्। सायद त्यत्ति वेलासम्म यो एउटा संस्कारको रुपमा विकास भइसकेको थिएन होला। त्यसो हुन्थ्यो भने उनले पनि थप्थे होलान् 'घुस खानेलाई इज्जत गर्ने महाअपराधी हो' भनेर। स्विडेनमा घुस खानेलाई भन्दा दिनेलाई बढी सजाय र जरिवाना छ। भ्रष्टाचार नियन्त्रण र न्युनिकरणमा कैयन उपायहरु छन् र हुन सक्छन्। ती मध्ये तत्काल सुरु गर्नु पर्ने र सकिने उपाय भनेको हामी, हरेक सर्वसाधारणले अवलम्बन गर्नु पर्ने मनो–सामाजिक चरित्र र व्यवहार नै हो। हामीले भ्रष्टाचारीलाई 'नमस्कार' होइन तिरष्कार दिनु पर्दछ। सदाचारीलाई नमस्कार र भ्रष्टाचारीलाई तिरष्कार गरी भ्रष्टाचारीलाई पनि सदाचारी बन्न प्रेरित गरौं, यही नै सर्वोत्तम उपाय हो।