Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 

नेपाल भारत सीमानासँग मेरो बर्रोको बोटको के सम्बन्ध ? यसो सर्सर्ती हेर्दा यस्तै लाग्न सक्छ। तर, सम्वन्ध मात्र होइन अति मिल्दोजुल्दो र प्रत्यक्ष सम्वन्ध छ। जहाँ तेरो मेरो हुन्छ त्यहाँ मात्र सीमाना हुन्छ। आफ्नो र अर्काको कुनै पनि चिज वीच भेद छुट्याउन र एउटाले अर्काको नउछिट्यावस् वा भोग नगरोस् भन्ने कुराको प्रत्याभुतिका लागि र केही गरी गरिहाले त्यसको छिनोफानोका लागि सीमा छुट्याइन्छ। यो खासगरी सम्पत्तिमा त्यसमध्य पनि जग्गाजमिनको हकमा बढी सान्दर्भिक छ। चाहे त्यो व्यक्तिगत होस्, चाहे राष्ट्रको जमिन होस् त्यहाँ सीमाना हुन्छ। अनि यो बर्रोको बोट कहाँबाट आयो ? यसको आफ्नै कथा छ। जेहोस् सीमाना र सीमाना विवाद समाधानको तरिकाहरु मध्ये एउटा सामान्य तरिकासँग यो बर्रोको बोटको प्रसंग सान्दर्भिक छ। युगौँ देखि चलेको कहिले दवेको, दवाइएको, कहिले उठेको, उठाइएको नेपाल – भारत सीमा विवाद र त्यसको समाधानका प्रयासमा पनि एउटा सन्दर्भ सामाग्री हुन सक्छ।

कुरो १५ वर्ष अघिको हो। हाम्रो तराईको घर – बारी चारकुने थियो। त्यसका वरपर धेरै संधियार थिए झन्डै ८–१० जना। ती संधियार मध्ये एकापट्टीका संधियार अति नै मेहनति थिए। राम्रो खेती गर्थे, उव्जा पनि राम्रो थियो। आफ्नो खेतलाई राम्ररी गोडमेल र स्याहार गर्थे। गोडमेल गर्ने जांगर यति धेरै थियो कि सांध (सीमाना) ताछ्न पनि भ्याउँथे। यता हाम्रो जमिनमा भने वृक्षारोपण गरिएको थियो। स्वभाविक रुपमा बेला – बेलामा गोडमेल गर्न र सांध तास्नु पर्ने पनि भएन। समग्रमा हामी भन्दा हाम्रा संधियार बढी सचेत थिए सांध (सीमाना) को विषयमा। त्यही सांध छेउमा हाम्रो जमिन पट्टी, झन्डै एक मिटर वरै, एउटा बर्रोको बोट थियो। बर्रो एउटा यस्तो रुख हो, जसले छहारी पनि रामै् दिन्छ र त्यसमा फलेको फल खाएमा नसा पनि लाग्छ। संयोग भनु वा बिडम्वना त्यसै बेला म लगायत हाम्रो घरका सबै युवा अध्ययन र भविष्य निर्माण लक्ष्यका साथ देश बाहिर थियौँ। तीन चार बर्षको दौरानमा सांधबाट २ मिटर वर हाम्रो बारीमा भएको बर्रोको बोट संधियारको खेतमा पुगेछ झण्डै २ मिटर पर। अचम्म पनि लाग्यो अनि चिन्ता पनि।

मैले धेरै सोचें त्यो बर्रोको बोट, मेरो संधियारको रबैया, लोभ र हेपाहापन, गुमेको जमिन, बांकी जमिनको बचावट छिमेकीसँगको समबन्ध, समाधानका उपायहरु आदिका बारेमा। मेरो दिमागमा केही कुराहरु आए जसलाई मैले नीतिगत रुपमा नै लागु गरें र समाधान पनि गरें। सर्वप्रथम त मैले संधियारले सीमाना मिचेको कुरा उहाँलाई भेटी प्रष्टसंग सभ्य भाषामा राखें। प्रमाणको रुपमा बर्रोको बोट काफी छंदै थियो साक्षी, अझ बढेर ठुलो भइसकेको थियो त्यतिबेलासम्म। अर्को कुरा बाँकी जमिनमा पनि अझै उहाँको दाबी छ कि भनी सोधें। पहिल्यै सीमाना मिचेको स्विकारी सकेको अवस्थमा उहाँले अझै अरु जमिन दावी गर्ने त कुरै भएन सबै भन्दा मुख्य कुरा बांकी जमिनलाई बचाउन पक्की सीमाना बनाउने निधो गरी उहाँसँग दुबै मिली खर्च व्यहोर्ने गरी पक्की सीमाना स्तम्भ राख्ने प्रस्ताव गरे। उहाँले सीमा स्तम्भ निर्माणमा खर्चको हिस्सा व्यहोर्न त मान्नु भएन तर एउटा उपलब्धी भयो, केही मिचेर धेरै बाँकी रहेको मेरो जमिन बचाउन मेरै खर्चमा सीमा स्तम्भ बनाइ गाड्न मलाई सहमति दिनुभयो। यो पनि एउटा ठुलै र वास्तवमा सबैभन्दा महत्वपूर्ण उपलब्धी लाग्यो मलाई। म सँग पक्की स्तम्भ बनाई छोटो–छोटो दुरीमा गाड्नका लागि आवश्यक आर्थिक उपलब्धता थिएन। मैले सोचें, यसका लागि मैले समयमै र ऋण गरेर भए पनि आवश्यक रकम खर्च गर्नु बुद्धिमानीपूर्ण काम हुनेछ ता कि यसै विषयमा जीवन भर पटक–पटक झमेलामा परीरहनु नपरोस। मैले ऋणगरी रकम जुटाएर गिट्टी, वालुवा, छड, सिमेन्ट मिलाएर औसत मोटाइ र लम्बाइको बलियो खम्बाहरु बनाई २–२ मिटरको फरकमा सीमाना भरी गाडेँ। त्यसपछि सीमाना मिचिने काम सदाकालागि बन्द भयो।

नेपाल – भारत सीमाना समस्या ( विवाद होइन? ) लाई मैले माथिको मैले भोगेको तितो घटनासंग तुलना गर्ने कोसिस गरें। मैले यहाँ विवाद होइन किन भनेको भने समस्यालाई पिडित भनिएको पक्षले पिडक भनिएको पक्षसामु आधिकारिक र जोडदार तरिकाले नराखेसम्म त्यसलाई विवाद भन्न मिल्दैन। आजसम्म किन त्यो हुन सकेन ? यसको पछाडि धेरे कारण होलान्। सकेनन् भनौं या चाहेनन् भनौं, कारण र पृष्टभूमी जेहोस् त्यसको एउटैमात्र असर छ नेपालको भूमी झन्–झन् मिचिदै छ। हामी जस्तो सर्वसाधारणलाई यति चिन्ता छ भने ' ठेकेदार' हरुलाई त अझ बढी चासो र चिन्ता हुनु पर्ने हो। छ भनेर भन्लान् र कुनै मञ्च पाउँदा गाल टार्न २/४ वटा चर्का शब्द पनि प्रयोग गर्लान्। जवसम्म त्यसको तात्विक प्रभाव देखिन्न त्यो गरेको ठर्हदैन वा व्यर्थ हुन्छ। नीति निर्माता, कुटनितिज्ञ, राजनितिज्ञ, सीमाविद, राष्ट्रबादीहरु कहाँ गए? एक आध बाहेक सबै मौन छन्। प्रतिपक्षमा बस्दा मच्चिन्छन्, अहिल्यै गुमेको भूमी फिर्ता ल्याउँला जस्तो गर्छन्। जव सत्तामा जाने तयारी, समिकरण र मोलतोल सुरु हुन्छ अनि सेलाउँछन्। सबै नीतिको माउ नीति त राजनिति नै हो। राजनितिज्ञनै ओइलाए पछि जरोमा धमिरा लागेको स्याउलाको पात झैं अरु 'ज्ञ'हरुपनि स्वत ओइलाउँछन्। यही प्रकृया दशकौं शताब्दियौं देखि चलिरहेको छ। पछिल्लो समयमा त झन् अझै बढेको छ। जसरी भर्खर नास्तिकबाट आस्तिक वा आस्तिकबाट नास्तिकमा स्तानान्तरण वा रुपान्तरण हुने दोसांधमा बसेको व्यक्तिलाई संसार चलाउनमा भगवानको हात छ कि छैन भन्ने सोध्दा अन्योलमा पर्छ, त्यसै गरी नेपालको राजनैतिक उथलपुथल र आर्थिक अव्यवस्थामा भारतको स्वार्थपूर्ण हात छ वा छैन भन्ने प्रश्न हाम्रो लागि संधै जिज्ञासा र अन्यौलको विषय रहिआएको छ । यो एउटा नसुल्झिएको गाँठो सावित भएको छ। यसै वीचमा कतिले भारतमूखी भएवापत सामाजिक तथा राजनैतिक अपमान वा तिरष्कार वा बहिस्कार पनि पाए त कत्तिले यसैमाथि बढी आर्थिक तथा राजनैतिक हैसियत बनाए। हामी जनताले बोल्नु पर्ने केही छैन यस विषयमा, सत्ताबाट भर्खर चिप्लिएका वा सत्तामा पुग्न जिउमा तेल घसेर बसेकाहरुले सत्तामा रमाइरहेकाहरुलाई गरेको गालीको संगालो बनाउने हो भने यसको पुष्टी गर्न चाहिए भन्दा बढी आधार हुन्छ। भारतको सवालमा के दक्षिण पन्थी, के उत्तर पन्थी, के बाम पन्थी, के हाम पन्थी सबैको अवस्था र अस्त्र उस्तै छ, । त्यसैले त आजसम्मको कुनै पनि सहमति वा समझदारीमा भारत सामु नेपालको आफ्नो चासो वा सरोकार प्रकृयागत, तौलका साथ व्यवस्थित र दीर्घकालिन रुपमा राख्न सकिएको छैन । सर्वसाधारण नेपालप्रेमीले तत्काल कुनै तात्विक उपलब्धीको अपेक्षा गर्ने अवस्था पनि देखिंदैन। छापाका पान्नाहरुमा आहा र ओहो भन्ने समाचार आउने गरी २–४ वटा चर्चित कार्यक्रम गर्ने, पर्चा बाँड्ने र एक दिने गोष्ठी र विरोध जनाउने गरेर हुँदैन।

हजारौं फूल फूल्छन् तर धागो नभई माला गांसिदैन। आज नेपालले त्यही धागो खोजिरहेको छ – बलियो धागो कमजोर होइन। दक्षिणबाट आएको लु हावा हुरीले नचुडिने धागो। त्यो धागो हामी वीचमै कतै लुकेको छ, खोज्नु पर्छ, उजागर गर्नुपर्छ, सार्वजानिक गर्नुपर्छ अनि हामी सबैले संगसंगै हातेमालो गदै साथसाथै लाग्नुपर्छ, हाम्रो नेपाल बचाउन, सीमानाको रक्षा गर्न केही व्यक्ति र संस्थाहरुले उक्त कार्यमा दिलो ज्यान दिएर नलागेको होइन तर सफल हुन सकेको छैन र हाम्रो सीमा रक्षासंग मेरो बर्रोको बोटको घटनाले दिएको अनुभव धेरै मिल्दो जुल्दो छ। यस अर्थमा कि बर्रोको बोट सीमा वारीबाट पारी पुग्यो, मुख्य कारण थियो उदाशिनता र पलायनता। आफैले वास्ता नगरेको हुनाले। घरका युवा सबै बाहिर गएकाले अहिलेको नेपाल जस्तै। मेरो छिमेकी पनि हेपाहा थिए अनि लोभी पनि, त्यत्रो जमिन भएर पनि २/४ हातको लागि लोभ गर्ने , विवादित वा मिचिएको भूमीलाई छुट्ट्याइ पछि मिलाउने गरी राखेर बाँकी रहेको आफ्नो भूमीलाई बचाउने काममा लाग्नु नै बुद्धिमतापूर्ण काम हुनेछ। प्रश्न उठ्न सक्छ त्यति लामो सीमा कसरी बार लगाई सुरक्षित गर्न सकिन्छ ? यसकोलागि श्रोत कहाँ छ? धेरै बजेटको जरुरत पर्छ। यी सबैकाम नगर्ने हुतिहाराहरुको तर्क हो। त्यतिमात्र होइन, भारतसंगको सांस्कृतिक, सामाजिक, आर्थिक सामिप्यता र अन्तर्सम्वन्ध (परनिर्भरता?) का कारणले सीमा बन्द गरिनुहुन्न भन्ने भ्रमात्मक प्रचारमा जुटेका शिक्षित र बौदिक गुलामहरुले नोकरशाही गर्दा पनि सर्बसाधारणमा निरर्थक र तर्कहिन मित्थ्याको भ्रम विजारोपण भएको छ। हामी सीमा बन्द गर्न सक्दैनौ र गरिनुहुंदैन भन्नु दुबै आधारहिन मानसिकता र प्रचार हुन्।

हामी नेपालीसंग बल छ, बुद्धि छ, साधन र स्रोत सबै छ। हाम्रा कर्मठ हात छन्, निरन्तर काम गर्न सक्ने बल छ, हाम्रा पहाडको फेदमा र नदीका किनारमा चट्टान र ढुंगा छन्, त्यसलाई जोड्ने सिमेन्ट बनाउने कारखाना छ र ओसार्ने साधन पनि। हामी निरन्तर र व्यवस्थित भई योजना र दृढताका साथ लागे चिनको ग्रेटवाल जस्तै संसारले चिन्ने एउटा ग्रान्डवाल बनाउन सक्छौँ। मात्र घोषणा र दृढ संकल्पको खाँचो छ। हामीले आजै अहिल्यै गर्नुपर्छ त्यो संकल्प। नत्र, भावी सन्ततीले युगौँ युग यस्तै किचलोमा लागिरहनु पर्ने छ र त्यसैमाथि चढी फेरि धेरै मन्त्री बन्ने छन् अनि लड्ने पनि छन्। जहाँसम्म सीमा बन्द गर्न हुने नहुने कुरा छ, यसले कुनैपनि नकरात्मक असर पार्दैन, अझ राम्रो हुन्छ। संख्या भन्दा गुणस्तर महत्वपूर्ण छ। धेरै मान्छे आवत जावत गरेर मात्र पारस्पारिक सम्वन्ध राम्रो हुने होइन, छानिएका र वाञ्चित मानिस थोरै भएपनि त्यसबाट कालान्तरमा राम्रो सम्वन्ध हुन जान्छ। आज आतंकबादीहरु विकसित मुलुकका अलवा भारत र चिन जस्ता नवोदित आर्थिक शक्तिहरुलाई जगैदेखि हल्लाउन र उखेल्नमा लागेको प्रष्ट नै छ। कसैले पनि विध्वंस गर्ने ठाउंमा होइन त्यसको वरपर सुरक्षित ठाउंमा बस्ने कोशिस गरिरहेको हुन्छ। त्यसका हिसावले पनि सीमा खुल्ला छोड्नु जोखिमपूर्ण छ। साथै अन्तराष्ट्रिय जगतले पनि नेपाली भूमीलाई आतंकबादीले दुरुपयोग गर्न सक्ने चिन्ता बेला – बेलामा प्रकट गर्दै आइरहेका छन्। यी सबै अवस्था हेर्दा सीमा बन्द गर्न आवश्यक र सम्भव दुबै छ। सबैलाई चेतना भया ।