Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 
पूर्व राजपरिवारको सम्पत्ती संक्रमणकालमा छ। हामी जस्ता देशको वारेमा चासो राख्ने तर विविध कारणले चासोलाई कार्यक्रममा उतार्न नसकेका वा नपाएकाले पनि परिवर्तित परिघटनाहरुलाई हेरिरहेका होलान्। त्यस्तै खालको एउटा नागरिकको हिसाबले नारायणहिटी तथा अन्य दरवारहरुको वैकल्पिक उपयोगको बारेमा दुई शब्द कोर्न मन लाग्यो। हरेक वस्तु, शब्द, घटना वा मान्छेलाई हेर्ने आफ्नै दृष्टिकोण, सीमा, क्षमता र वाध्यता हुन सक्छन्। मैले राख्न लागेको सानो अवधारणा पनि सबै खाले पक्ष र व्यक्तिहरुलाई उत्तिकै शान्दर्भिक नहुन पनि सक्छ। कसैका लागि यो एउटा काल्पनिक कथा त कसैका लागि यो योजना जस्तो लाग्न सक्छ। विशेष गरी नवोदित तथा पछिल्लो समयमा परिष्कृत हुन बाध्य भएका दलहरुभित्रका जिम्मेवार व्यक्तिहरुले यसलाई बुझिदिनुहोला भन्ने आशा छ। महँगो शुल्क तिरेर नियुक्त गरिएका स्वदेशी तथा विदेशी विशेषज्ञको सुझाव समेत आफ्नो अनुकुल भए मात्र उपयोग गर्ने रोग लागेका पुराना मित्रहरु र वहाँहरुसँग त्यसैगरी प्रतिस्पर्धामा उत्रिनु भएका नयाँ मित्रहरुले यो निशुल्क सुझावलाई कति स्थान दिनुहोला त्यो त मलाई थाहा छैन।

दरवारको वैकल्पिक प्रयोग सम्बन्धी यो धारणा नितान्त राष्ट्रिय ढुकुटीमा नगद जम्मा गर्ने स्रोत जुटाउने प्रयासको दृष्टिकोणबाट प्रभावित छ। यस क्रममा सामाजिक, सांस्कृतिक, कानुनी, वातावरणीय लगायत अन्य पक्षहरुलाई हेर्नु पर्ने त छँदैछ। यो अवधारणामा त्यस्ता पक्षहरुलाई समेटिएको छैन। सम्पूर्ण नेपालीको टाउकामा ऋण थप्दै हरेक बर्ष घाटा बजेट बनाई गिद्धे आँखा गाड्ने विदेशीहरुको ऋण सहयोगको भरमा देशको अर्थतन्त्र चलाई रहनु परेको अबस्थामा केही थप आन्तरिक स्रोत जुटाउनु पक्कै पनि सकारात्मक होला। हुन त उपलब्ध बजेटको सही उपयोग नहुने, वैज्ञानिक र व्यवहारिक वितरण नहुने, खर्चको क्रममा चुहावट हुने लगायतका कारणहरुले स्रोत बढाएर मात्र खास लाभ हुदैन भन्ने लाग्दछ। यद्यपि यसको महत्व त छदैछ। पूर्वराजा अझ दरवार भित्र बसिरहेको अबस्थामा र केही मिठो बोल्ने नेताहरुले उनको निवासको व्यवस्था गर्नु पर्ने विचार राखिरहेको देख्दा सायद मोहियानी हक मार्फत नारायणहिटी र अन्य दरवारहरु पनि बाँडचुड गर्ने हो कि जस्तो देखिन्छ। सोको पहिलो किस्ताको रुपमा नागर्जुन दरबार उपहार दिइएको कुरा पनि सुन्नमा आएको छ। यदि त्यस्तै भएछ भने पनि नारायणहिटी चाहिँ राज्यको भागमा पार्न पाए राम्रो हुन्थ्यो जस्तो लाग्दछ। बजार मूल्य र उपयोगिताको हिसाबले पनि नारायणहिटी नै छान्नु बुद्दिमत्ता हुनेछ। संभावित "नयाँ राजाहरुलाई" यो सुझाव राम्रै लाग्ला, अवश्य।

ठुला पार्टीका ठूला नेताज्यू हरु गोर्खा दरवारको झ्यालमा बसी फोटो सेसन गराएको देख्न पाउँदा सानो छँदा शाहवंशलाई गोरखा फलिफाप भएको इतिहास पढेको याद आयो र वहाँहरुलाई मलाई भन्दा बढी इतिहासमा विश्वास भए जस्तो पनि लाग्यो।

राजतन्त्र एउटा ब्राण्ड पनि हो। यो ब्राण्डलाई नष्ट गरेर होइन अझ बढाएर भजाउनु पर्छ। त्यसो गर्दा यसलाई समर्थन वा वढावा गरेको भन्ने अर्थ लाग्दैन। बुद्दिमानले शत्रुको बारीको फलको हाँगो आफ्नो बारीमा लम्किदा झगडा गर्दैन किनकि फल फलेपछि यतै झर्छ। फल सँग मतलब राखौं कसको बोट हो भन्ने तिर होइन। एउटा इतिहास पनि ब्राण्डिङ गरेमा महँगो र विक्रीयोग्य बस्तु हुन सक्छ। पर्यटन नै आयस्रोतको मुख्य आधार बनाउनु पर्ने हाम्रो जस्तो मुलुकको सन्दर्भमा त यो कुरा अझ महत्वपूर्ण छ। "रोयल" शब्दलाई एउटा वस्तुमा विकास गरी पर्यटन र सूचना प्रविधि मार्फत संसार भरी बेचेर राष्ट्रलाई फाईदा गराउन पाए यी सम्पतीलाई हाल सम्म जोगाई राखिदिने पूर्व राजाका पूर्खाहरुले पनि यी अग्ला पर्खालहरु भित्र जानी नजानी गरेका पापहरुको एक दुई किस्ता चुक्ता गर्थेकि। हुन त "रोयल" शब्द उच्च स्तरको भन्ने संकेत गरे पनि त्यति राम्रो अर्थमा लिने गरेको पाइँदैन। तर, मेरो विचारमा यो शब्द देखि नै ज्वरो आउनु पर्ने कारण छैन। बरु हिजो सम्म राजपरिवारको पेवा रहेको यो शब्दलाई सर्वसाधाहरण नेपाली को बनाउनपाए हुन्थ्यो कि? शब्द फाल्नुको सट्टा अर्थको शान्दर्भिकता र दायरा बढाए राम्रो होला। बुद्दिमान नेताज्यूहरु को विगत ३ वर्षमा ज्ञानेन्द्र शाहज्यूको सम्पत्ती राष्ट्रियकरण गर्ने नाटकका धेरै श्रृखला देख्दै छौं हामीले। सम्पत्तिको परिभाषा फेरिइसक्यो। ढुंगे युगमा एक हुल पशुलाई सम्पत्ति भनिन्थ्यो भने आज सूचना, प्रविधि र ज्ञानलाई सम्पत्ति भन्न थालेको पनि धेरै भईसक्यो। सम्पति माथिको हद बन्दीको सुगा रटाइ गरी हिड्ने तर दुर्गम जिल्लाका धेरै क्षेत्रफल भएको सस्तो जमिनलाई हदबन्दी लगाउने तर अमूल्य धातु, शेयर, बैक संचयको लेखाजोख गर्न नसक्ने क्षमता भएका नेताहरुले ज्ञानेन्द्रको सम्पति कति नै राष्ट्रियकरण गर्न सक्लान र ? जनताले खासै आशा नगरे हुन्छ। ज्ञानेन्द्र शाहज्यूको केही रोपनी जग्गा र मर्मत संभारमा करोडौं खर्च गर्नु पर्ने पुराना केही दरवार हत्याए भनेर मख्ख नपर्नोस। वहाँसँग जे जति सम्पत्ति छन् त्यसको गन्ध पनि तपाईहरुले पत्ता लगाउनु भएको छैन र सायदै पत्ता लगाउनुहोला। सम्पत्ति कमाउने, बचाउने र लुकाउने मामलामा हुन त तपाईहरु पनि अनुभवी हुनुहोला तर ज्ञानेन्द्रज्यू लाई भेट्नु हुन्न। नयाँ साथीहरुको के कुरा गर्नु सिक्न अझै बर्षौं लाग्छ। तर छिटो जमाना छ चाँडै न सिक्नु होला भन्ने आशा छ। तर जे होस् ज्ञानेन्द्रज्यूसँग के के सम्पत्ति छन् भनी ठ्याक्कै भन्न त नमिल्ला वा नसकुँला तर यति भन्न मन लाग्यो, मूल्य र महत्वको हिसावले अहिले तपाईहरुले भेटाएको भन्दा सयौं गुणा बढी सम्पत्ती छ होला। एउटा कुरामा चाहिँ ज्ञानेन्द्रज्यू को ध्यान नपुगे जस्तो छ , यस्तो एन् जी ओ फस्टाएको देशमा सम्पत्ती राष्ट्रियकरण नहुदै सबै सम्पत्तीलाई सामाजिक काममा लगाई आफू त्यसको अध्यक्ष भएको भए मस्त कमाइन्थ्यो। अव त ढीला भइसक्यो।

तानाशाह तथा राजाहरु हटेको, हटाइएको, एकिकृत, खण्डित वा संकुचित भएका कैयन मुलुकहरु छन् विश्वमा। ति मुलुकहरु भ्रमण गर्दा, अध्ययन गर्दा उनीहरुले ओगटेको वा जोडेको सम्पत्तीलाई विविध उत्पादनमुलक वा अनुसन्धानमुलक लगायतका कार्यमा लगाएको पाइन्छ। नेपाल भरी विविध हावापानी र भौगोलिक अवस्थामा छरिएर रहेका दरवारहरुलाई खेल पर्यटन, साँस्कृतिक पर्यटन, "शाही संस्कार तथा एकतन्त्र व्यवस्था अध्ययन अनुसन्धान केन्द्र" आदिको रुपमा विकास गर्न सकिन्छ। अझ विशेष रुपमा नेपालले साँच्चै आन्तरिक पर्यटन विकासको अभाव महसुस गरिरहेको सन्दर्भमा सबै दरवारहरुलाई "रोयल रिसोर्ट" नामाकरण गरी नवोदित साना अर्थिक राजाहरुलाई चर्को वार्षिक सदस्यता शुल्क लिई सबै दरवारको भ्रमण गराई आय आर्जन गर्न सकिन्छ। रोयल ब्राण्डलाई टिकाइ राख्न र त्यस माध्यमबाट पैसा असुल्न (हामीलाई बानी परेको जन जिब्रोको शब्द) ती दरबारहरुले दिने सुविधा तथा सेवा र त्यसका शैलीहरु पनि रोयल खालकै राखिरहे अझ राम्रो हुनेछ। अर्को फाईदा त रोयल सेवा दिन तालिम प्राप्त कर्मचारीहरुलाई विदा गरी विचल्ली पार्नुको सट्टा उनीहरुको व्यावसायिक दक्षतालाई भजाएर राष्ट्रको ढुकुटीमा नगद जम्मा हुनेछ। शायद त्यो रोयल रिसोर्टको पहिलो सदस्यता ज्ञानेन्द्रज्यूले लिनुहुनेछ। यदि म त्यसको प्रमुख व्यवस्थापक हुँदो हुँ त वहाँलाई ब्राण्ड एम्बासाडोर बनाई मोडलिङ गरिदिन आग्रह गर्ने थिएँ र प्रथम सदस्यता कम्लिमेन्टरी दिने थिएँ, अवस्य वहाँको माया लागेर होइन व्यावसायिक फाइदाका लागि। यसो भन्दा "नयाँ राजालाई" चित दुःख्ला तपाईहरुले त यसै निशुल्क पाइहाल्नुहुन्छ, चिन्ता नगर्नुस् आफ्नै हात जगन्नाथ। तपाईबाट नियुक्ति लिने अन्धो, बहिरो, लाटोले तपाईँ संग शुल्क अशुल्ने आँट गरेर नयाँ नेपालको निर्माणमा चोट पुर्‍याउने काम के गर्ला र?

अब कुरा गरौं मुख्य दरबार नारायणहिटिको सदुपयोग गर्ने बारेमा। हुन त संग्रहालय बनाउने निर्णय भइसक्यो क्यारे। यद्यपि विकल्प सोच्न सकिंदैन भन्ने होइन। विश्वका ठूला शहरहरुमा वाल्ट डिस्नेले बनाएको जस्तै डिस्ने ल्याण्ड बनाउन पनि सकिन्छ। त्यस्ता डिस्ने ल्याण्डमा भुत घर, पोखरी पनि हुन्छन्। भुतहरु त दरबार हत्याकाण्डपछि बग्रेल्ती छँदैछन्। अन्य डिस्ने ल्याण्डमा पानी पोखरीहरु पाइन्छन् र साना खोलाहरु पनि हुन्छन। हाम्रो डिस्ने ल्याण्डमा रगतकै पोखरी र खोला छन् भनी प्रचार गर्न पाए पर्यटकको घुईंचै लाग्छ होला। शुल्क पनि डलरकै दरमा लिन मिल्थ्यो होला। आफ्नो त सुर नै देश धनि बनाउने, जताबाट पनि पैसा जुटाउनै हतार छ। हुन त एउटा समस्या छ डिस्ने समुहलाई दिन मिलेन किनकि पूँजीवादीलाई नयां नेपालमा छिर्न दिने कुरै भएन। रोयल्टी पनि धेरै तिर्नुपर्छ अर्को घाटा। बरु आफ्नो खालको नौलो प्रयोग गरी विश्वलाई देखाउने नयां ब्राण्ड बनाउन पाए फाइदा हुन्थ्यो। मैले दुई वटा नाम जुराएको छु एउटा काठमाडौको शब्द सँग मिलाएर किस्नेल्याण्ड र अर्को प्रचण्ड शब्द सँग मिलाएर पिस्नेल्याण्ड। दुबै नाम सार्थक र अर्थपूर्ण छन् होइन त? दरबारलाई अन्य प्रयोजनमा पनि लगाउन सकिन्छ जस्तै खेलमैदान, संग्रहालय, शिक्षालय, चलचित्र छायांकन स्थल, प्रेम पार्क, बस पार्क, अपार्टमेन्ट , सुकुम्बासी वासस्थान, भुटानी शरणाथी शिविर, एनआरएन् अस्थायी निवास, भुतपूर्व घुस नखाने मन्त्री निवास, व्यावसायिक कृषि उत्पादन अनुसन्धान केन्द्र, संसारभरिबाट निकालिएका तानाशाहहरुको अस्थायी निवास आदि आदि। एउटा अर्को पनि राम्रो उपयोगिता छ। काठमाण्डौंको सांघुरा बाटोका वरपरका जग्गा मुल्यांकन गरी लिएर बाटो बढाउने र त्यसको सट्टा दरबार भित्रको जग्गा मुल्यांकन गरि क्षतिपूर्ति दिने। अझ राम्रो त के हुन्छ भने नेपालका सबै जातजातिको झल्को आउने एउटा घर बनाई सवै जातका मानिस भएको गाउं (एथ्नोसिटी) तथा संस्कति अध्ययन विश्वविद्यालय बनाउने। तर जे गरे पनि अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ र आय आर्जन पनि हुनुपर्छ।

अझ सवै भन्दा राम्रो विकल्प त बांकी नै छ । यो विकल्पमा त थप खर्च पनि गर्नू पदैन नारायणहिटिमा भइरहेको संरचना र व्यवस्थावाट निरन्तर आय आर्जन गर्न सकिन्छ। यो अबधारणा चाहिं हामी नेपालीमा सर्वत्र व्याप्त सामन्तवादी सोच, राजा हुने इच्छा र टेलिभिजनको पर्दामा आउन रहर गर्ने बानीसंग सम्बन्धित छ। अब नारागयणहिटिमा एउटा स्याटालाइट टिभि स्टेसन र एफएम रेडियो स्टेसन राख्ने। नेपालीहरुलाई शुल्क लिई केही घण्टाका लागि राजगद्यीमा बस्न दिने र त्यसबाट महंगो शुल्क लिने।गद्दीमा बस्दा आरोहण प्रकृया पुरा गर्ने र उक्त ब्यक्तिको ब्यक्तिगत तथा पारिवारिक विवरण र सम्पूर्ण गद्दि आरोहण प्रक्रिया टिभि र रेडियोमा प्रसारण गर्ने। सरदर दिनको ८।१० जनालाई राजा बनाउन सकिन्छ। औसत रु एक लाख सुल्क उठाउने हो भने पनि बार्षिक झण्डै ३० करोड आम्दानी हुन्छ। अझ नेपाली काइदाले विदेशी पर्यटक सँग २।३ गुणा शुल्क उठाउने हो भने त झन् अरबै उठछ। यसो गर्दा आर्थिक फाइदा मात्र होइन धेरै अरु फाइदा पनि छन्। धेरै नेपालीले पालै पालो राजा हुन पाउँछन् र मनभित्र दविएको राजा हुने रहर पनि पुरा हुन्छ। उनीहरुले नयां राजा हुन नयां पार्टी खोली काटमार र अशान्ति गर्नु पनि पर्दैन। शुल्क लिंदा केही छुटको व्यवस्था पनि गर्न सकिन्छ। पहिलो तीन दलका शिर्ष नेतालाई १००% छुट। अर्का १० दलकालाई ५०% छुट र बांकी १२ दललाई ० % छुट। खरा राजवादीलाई २०० % शुल्क लिनुपर्नेछ किनकि उनीहरु तोकिएको सिमा भन्दा बढी समय गद्दीमा बस्ने सम्भावना हुन्छ। तर हाललाई ज्ञानेन्द्रजीलाई भने निषेध गरे हुन्छ किनभने वहाँ पहिल्यै २ पटक बसिसक्नु भएको छ।