Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 

नेता भन्ना साथ हामी राजनितिसँग नजिक हुन पुग्छौं। नेता शब्दको अर्थ राजनिति कै वरपर राखेर खोज्न पुग्दछौ । यसको आफ्नै कारण छ र यो स्वभाविक पनि छ। एक त राजनीति शास्त्र वा विधा नै अन्य सबै विधा वा क्षेत्रको मूल विधा वा क्रेन्द्र विन्दु हो। राजनितिमा सरलिकरण र निर्मलिकरण गरे मात्र अन्य क्षेत्रको सकारात्मक र दीगो विकास हुन सक्छ। अर्को त हाम्रो जस्तो मुलुकमा सर्वचर्चित, सबैको कर्णप्रिय, सवैले बुझेको ―जानेको विषय नै राजनिति नै हो। धेरैलाई त यो अन्तिम विकल्प पनि भएको छ। अन्य क्षेत्रहरुमा मन नलागे, नजमे, फाइदा नभए राजनिति तिर कोल्टिने र प्राय : सफल हुने हुँदा राजनिति विषय प्यारो पनि छ हामी सबैका लागि। रोगी, दुर्घटना पीडित, आगलागी पिडित, व्यावशायिक रुपमा टाट उल्टेकोलाई वीमा प्यारो भए जस्तै होला शायद। धर्म, व्यापार ― व्यवशाय, संघ ―संस्था, समाज, परिवार, गाउँ ―टोल, रँगकर्म, नाटक, चलचित्र जस्ता क्षेत्रहरुमा पनि एउटा नायक/नायिका हुन्छन्। ती नायक/नायिका नै पुरै कृयाकलापको केन्द्र विन्दु हुन्छन्। त्यस्तै गरी राजनीतिमा पनि नायक हुन्छन् ― हामी नेता भन्छौं। र, महिला भए हामी नेत्री भन्छौं। शायद पित्री सतात्मक समाज बढी समय टिकेको भएर होला नेत्री भन्दा नेता शब्द नै बढी प्रचलित छ। मेरो विश्वास वा मान्यता त होइन तर वास्तविकतामा के देखिन्छ भने हाम्रो देशमा होस् वा अन्य मुलुकमा नै किन नहोस् महिला भन्दा पुरुष नेता नै बढी भेटिन्छन्। युगौं देखि अहिलेसम्म लामो इतिहांस बोकेका धेरै र कठोर राजनैतिक क्रान्ति र परिवर्तन भोगेका विश्वका धेरै मुलुकका इतिहांस पढ्दा भ्रमण गर्दा, ऐतिहांसिक सँग्रहालय घुम्दा पनि महिलाका भूमिका प्रभावकारी र उदाहरणीय देखिए पनि सँख्यात्मक रुपमा न्युन देखिए। हार्वर्ड विश्वविद्यालयको कानुन संकायमा त्यहाँ अध्ययन गरी विश्वभरि विभिन्न देशमा नेतृत्वमा रहेका व्यक्तित्वहरुको तस्विर झुण्डयाइएको रहेछ। उदेक लाग्दो कुरा के भने त्यहाँ पनि दशमा एक पनि महिला पाइएन। जे होस्, नेत्रीको संख्या कम भएरै होला जनजिब्रोमा नेता भन्ने शब्द बढी प्रचलित भएको पनि।

जुन क्षेत्र वा विषयको भए पनि नेता र नेत्री शब्दमा एउटा मात्र भिन्नता छ लिंगको। पुरुष भए नेता र महिला भए नेत्री भनिन्छ। सहजताका लागि नेताका प्रकार बारे कुरा गरुञ्जेल हामी दुवैलाई नेता शब्दबाट नै सम्बोधन गर्ने छौं। जे भए पनि यसका पछाडि कुनै पूर्वाग्रह भने पक्कै छैन। नेपाली भाषा पनि गजवकै छ। नेता भन्दा नेतृत्व दिन सक्ने पुरुष बुझिन्छ भने त्यसकै सोझो स्त्री लिंग बनाइ नेती भन्दा मही पार्दा मदानी बेरी घुमाउने डोरीलाई बुझिन्छ। त्यसै गरी नेत्री भन्दा नेतृत्व दिन सक्ने महिला बुझिन्छ भने त्यसको सोझो पुलिंग शब्द नेत्रको शब्दार्थ आँखा भन्ने हुन्छ। तर एउटा शब्द चाहिं गजवकै छ है, नेताले गरे पनि नेत्रीले गरे पनि त्यसलाई नेतृत्व नै भनिन्छ, नेतात्व चाहिं भनिन्न। यस शब्दलाई सोझै बुझदा अगुवा हुनका लागि त नेतृ नै बढी उपयुक्त जस्तो देखिन्छ ।

शब्द उत्पति, सार, अर्थ भन्दा पनि हामी नेताका प्रकारसँग बढी सम्बन्धित छौं। तिनै विविध प्रकारले गर्दा नै हाम्रो उनीहरु प्रतिको आशा, उनीहरुको दायित्व तथा कर्तव्य निर्वाह र त्यस वीचको अन्तरबाट उब्जिएको खाल्डो र असर नै हाम्रो प्रमुख सरोकार हो। सामान्य सिद्धान्तले नेता ३ प्रकारका हुन्छन भन्ने मान्दछ ― पहिलो कामबाट बनेका नेता दोश्रो पदबाट बनेको नेता र तेश्रो दुबै कुराको आधारमा बनेको नेता। हुनत काम (कर्म) नगरी पदमा पुग्न गाह्रो हुन्छ। तर कहिले कहीं परिस्थितिले पनि नेताको पदमा पुर्‍याइदिन्छ, त्यसमा पुग्नेको के नै दोष हुन्छ र। कर्म पनि भएको पद पनि भएको नेता भए त राम्रै हो। तर कर्म भई पद नभएको र पद भई कर्म नभएको जे भए पनि अप्ठ्यारो पर्छ। अप्ठ्यारो नेता स्वयं र उनको नेतृत्व अन्तर्गत रहने सबैलाई पर्न जान्छ। इतिहांसको काल खण्डमा धेरै यस्ता तीनै प्रकारका नेताका उदय ― विलय भएका छन्। अहिलेको हाम्रो देशमा पनि यस्ता सबै प्रकारका नेता छन्।

नेता, जो अगुवा मानिन्छ, ऊ एउटा विशेष मानव समुह वा त्यस समुहलाई सुसंगठित, सुसूचीत, सुव्यवास्थित, सुसमृद्ध गर्ने सर्वोत्कृष्ट ठहरिएको वा मानिएको विचार वा सिद्धान्तको अगुवाई गरिरहेको हुन्छ। उसले सूचना, स्रोत, साधन, संसाधन, अवसर, चुनौति आदिको समय सापेक्ष अध्ययन, अनुसन्धान गरी आवश्यक सर्वोत्तम उपलब्ध विधि र ज्ञान प्रयोग गरी परिस्थितिलाई आफ्नो समुहको अनुकुलतामा लगाइरहेको हुन्छ। समुहका सदस्यहरुले ऊबाट सर्वोत्कृष्ट नतिजा र निस्वार्थ योगदानको अपेक्षा गरेका हुन्छन्। मनोवैज्ञानिक रुपमा नेतालाई आफ्नो नभई अरुको मात्र हितका लागि लागिपर्ने उत्कृष्ट निस्वार्थ मानवका रुपमा हेरिएको हुन्छ। यदि लोभ नै मानवलाई जगाई राख्ने कारक तत्व हो भने पनि उक्त नेताले पाउने मान मर्यादा र कदर नै उसको लोभ बुझाउने माध्यम हो भन्ने मान्यतामा हुन्छन् सम्पूर्ण सहयोगी, अनुयायी सदस्यहरु। जब नेताको लोभ त्यसभन्दा माथि, भित्र, भिन्न, अन्य स्वार्थमा पुग्दछ तव अन्य व्यक्तिहरुको विश्वासमा आंच आउन पुग्दछ। आशातित व्यवहार र वास्तविक व्यवहार वीच देखिने फरकले नोक्सान भएको देखिन्छ, त्यसले दुःखी बनाउँछ, उप्रति रिसको भाव उत्पन्न हुन्छ र कालान्तरमा वितृष्णा पैदा हुन्छ। हामीले कसैलाई नेता मान्नु अघि सम्भाव्य नेताका प्रकारहरु, उनको पूर्वावस्थाका आधारमा अड्कल गर्न सकिने प्रकारको किटानी र त्यस्तो नेताबाट गर्न सकिने अपेक्षाका बारेमा मोटामोटी किटानी गर्नु पर्दछ ता कि वितृष्णाको सिकार हुन नपरोस्।

उपरोक्त उद्देश्यका लागि हामीले कुनै पनि नेतालाई निम्न प्रकारमा विभाजन गर्न सक्दछौ । यो विभाजन कुनै सिद्धान्तका आधारमा नभई उनीहरुले गर्ने व्यवहार, स्तर, प्राथमिकता, ज्ञान, क्षमता, फराकिलोपन आदिका आधारमा हो। खास गरी उनीहरुले कसको हितका लागि आफ्नो समय, ज्ञान, शक्ति, विवेक प्रयोग गर्छन् त्यसको दायराको आधारमा नेताका प्रकार छुट्याउनु व्यवहारिक हुन जान्छ। यस दृष्टिकोणबाट नेतालाई (क) सम्पूर्ण प्राणी जगतको (ख) मानव मात्रको (ग) एउटा वर्गको (घ) कुनै एउटा भुगोल (महादेश, देश,राज्य)को (ङ) एउटा पार्टीको (च) एउटा पार्टी भित्रको गुटको (छ) आफ्नो परिवार वा आफ्नो मात्र आदि प्रकारमा वर्गिकरण गर्न सकिन्छ । संसारमा गौतम बुद्ध, अब्राहम लिंकन, नेल्सन मण्डेला, मदर टेरेसा, महाविर जैन, विश्वेश्वर प्रशाद कोइराला, महात्मा गान्धी, मदन भण्डारी, मनमोहन अधिकारी, कार्ल मार्क्स आदि जस्ता कैयन नेताहरुको जन्म भयो। यी सबै अलग – अलग प्रकारका नेताहरु हुन्। तर एउटा कुरा भने सबैको मिल्छ, त्यो के भने यी सबै एउटा गुट, झुण्ड, परिवार र आफ्नो हितको दायराबाट माथि थिए। गौतम बुद्धलाई पनि नेताकै सूचीमा राख्नु उचित होला नहोला। यो एउटा सांकेतिक कुरा मात्र हो। बुद्धले शान्तिका माध्यमबाट सम्पूर्ण मानव मात्र नभई प्राणी जगतकै कल्याणका लागि आद्धीतीय नेतृत्व गरेको शन्दर्भमा र आजका नेताले त्यसकै अनुशरण गरी दिए गुम्दै गएको शान्ति पूनर्जिवित हुने थियो भन्ने आशाको प्रतिकात्मक रुपमा मात्र प्रस्तुत गरिएको हो। नीजी र पारिवारिक स्वार्थबाट उठेर एउटा पार्टी वा समुह अनि त्यसपछि देश/राज्य र विश्व हुँदै मानव र अन्त्यमा सम्पूर्ण प्राणी जगतकै हितका लागि लाग्ने प्रणका साथ एक– एक खुड्कीला गर्दै अघि बढ्न सक्नु पर्छ आफूलाई नेता भन्न रुचाउने व्यक्तिले। बृहत निस्वार्थ भलाई भित्र आफ्नो सफलता र सन्तुष्टी खोज्नु पर्दछ। जीवनभर एक रुपैंया अनुचित कमाइ नगरी निरन्तर निस्वार्थ जनसेवामा लाग्ने चप्पल लगाएर गाउँ – टोल, घर दैलो पुग्ने नेतालाई एक लोटा पिउने पानी नदिने अनि नेताको ढाल बोकी घुसखोरी गरी अकुत सम्पत्ति कुम्ल्याई महंगा गाडिबाट कहिले काहि फुत्त ओर्लिनेलाई ऋण गरी मासु रक्सी खुवाउने चलन त्याग्नु पर्ने बेला भएको छ। आफूलाई संकुचित र सीमित पार्दै माथिबाट तल तिर झार्नु हुँदैन। अर्को तर्फ नेताका अनुयायीहरुले पनि आफ्ना स्वार्थ शिद्ध गर्न सहयोग गर्ने नेतालाई भन्दा सामुहिक स्वार्थका लागि लड्ने समय दिने नेतालाई बढी मान्नु पर्दछ।आफ्नो काम र स्वार्थ निम्ट्याउन दुरुपयोग गर्न छोड्नु पदर्छ। नेपालको आजको विषम परिस्थितिमा त झन् यसको टड्कारो आवश्यकता महशुस भएको छ। हरेक नेतालाई आफूलाई पद मात्र होइन कर्मको आधारमा नेता स्थापित गरुन् र स्वयं र परिवार वा गुटको नेताबाट माथि उठेर समग्र मानव तथा प्राणी जगतको उन्नती अनि बृहत र फराकिलो सोच भएको नेताको दर्जामा पदोन्नति गरुन्, यही हामी सबैले शुभकामना दिनु पर्दछ ।