Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 
युगको परिवर्तनसँगै धन सम्पत्तीको परिभाषा पनि बदलिंदै गएको छ। कुनै बेला एक हुल घरपालुवा जनावर हुनेलाई धनी मान्छे मानिन्थ्यो भने पछिल्लो समयमा सूचना तथा सञ्चार, प्रविधि र ज्ञानलाई धनको रुपमा हेरिन्छ। यस वीचमा धनको परिभाषा धेरै पटक फेरिए। तर समयको परिवर्तन हुँदै जाँदा धेरै कुरा फेरिए पनि धन सम्पत्तीको महत्व र स्थानमा भने खासै कमी आएन। जेलाई महत्व दिए पनि त्यसलाई प्राप्त गर्न प्रयोग हुने धनको महत्व र खास गरी धनलाई परिभाषित र मापन गर्ने धनको भाषा नगदको महत्व भने सदावहार मात्र होइन अझ बढ्दै गयो। आज चाहेर – नचाहेर, सकेर – नसकेर, जानेर – नजानेर, देखाएर – लुकाएर, प्रत्यक्ष – अप्रत्यक्ष, तत्काल – दिर्घकाल, सुस्तरी – वेस्सरी, जसरी र जुन रुपमा भए पनि प्राय : सबै व्यक्ति त्यसैको आर्जनमा लागी परेका छन्। व्यक्ति मात्र होइन संघ – संस्था निकाय वा राज्य पनि अर्थोपार्जनमा लागेका छन्। अर्थनीतिले राजनीतिलाई डोहर्‍याउन थालेको पच्छिल्लो दशकमा त धनको महत्व अझै बढेको छ। कतै देश धनी छन् त कतै नागरिक धनी। हामी व्यक्ति धनी देश गरीब भएको देशका नागरिक कहलाएका छौँ। यसको अर्थ सबै नेपाली धनी छन् भन्ने होइन। ९०% भन्दा बढी नेपाली गरिबीको रेखामुनी रहेका होलान्। तथापि निजी सम्पत्ती र नगद राख्ने दृष्टिकोणबाट हेर्दा हामीले सोचेको बुझेको धनी मुलुकहरुका नागरिक भन्दा नेपाली अघि छन्। राज्यसँग सामाजिक सुरक्षाका पर्याप्त (न्युनतम?) कार्यक्रम नहुनु र विकास निर्माण र पूर्वाधारमा पनि सरकारी निकायले भन्दा व्यक्ति आफैँले खर्च गर्नु पर्ने बाध्यताका कारण पनि व्यक्तिहरुले निजि सम्पत्ती र नगद वा नगदजन्य सम्पत्ती जम्मा गर्ने होडबाजी नै चलेको छ। समग्र आर्थिक विकासका लागि यो एउटा नकारात्मक कारकको रुपमा विकास भएको छ।

राज्य, संस्था, निकाय वा व्यक्ति जे भए पनि प्रगति र विकास गर्न मात्र होइन न्युनतम काम चलाउनका लागि पनि नगदको अपरिहार्यता नै भइसक्यो। युग बस्तु विनिमयबाट खरीद विक्रीमा फट्को मारेको शताब्दियौं भइसक्यो। हरेक बस्तु प्राप्त गर्न नगदको आवश्यकता पर्दछ। कसैले आफू स्वयं कुनै बस्तु उत्पादन गर्न चाहन्छ भने पनि त्यसको तयारीका लागि चाहिने अन्य बस्तु खरीद गर्न फेरि नगदको जरुरत पर्दछ। नेपाल जस्ता गरीब मुलुकका विकट ठाउँहरुमा धेरै यस्ता व्यक्ति तथा परिवार पनि छन् जसले आज पनि वस्तु विनिमय र स्थानीय उत्पादनबाट आफ्नो गुजारा चलाउँछन र बर्ष भरी शायदै कुनै रुपैयाँको प्रचलन गर्दछन। तथापि, नगदको महत्व कम भएको भने छैन, समग्रमा बढ्दै गएको छ। व्यक्ति, संस्था, निकाय वा राज्यको आ–आफ्नै खालका नगद प्राप्त गर्ने श्रोत हुन्छन्। चाहे आम्दानीको रुपमा आएको होस वा सापटी वा सहयोगको रुपमा नै आएको किन नहोस् प्राप्त गर्नेका लागि त्यो एउटा नगद प्रवाह हुन जान्छ। नगद प्रवाह बढाउनु र त्यसलाई टिकाउनु हरेकका लागि प्राथमिकता र सरोकारको बिषय बन्दछ। आफैले योजना बनाई कार्यक्रमका साथ आय आर्जन मार्फत नगद प्राप्ती गर्नु पर्ने व्यक्ति वा संस्था संधै एक प्रकारको तनाव र जोखिममा रहेको हुन्छ। लगानी गरी खोलिएका उद्योग व्यवसायले आफ्नो निश्चित खर्च धान्नकालागि मात्र भए पनि न्युनतम आम्दानी गर्नुपर्ने हुन्छ। त्यसैगरी एउटा व्यक्तिले आफ्नो र परिवारको जीवन धान्न, चलाउन, वा अघि बढाउन कुनै एउटा माध्यमको चयन गरेको हुन्छ। मुद्रास्पि्कति र महँगीले हरेक व्यक्तिको जीवन कष्टकर बन्दै गईरहेको छ। तसर्थ हरेक व्यक्तिले आय आर्जन गर्नु अनिवार्य र अपरिहार्य हुँदै गइरहेको छ।

जव व्यक्तिले आय आर्जन गर्ने विषय उठ्छ तव त्यसको माध्यमको बारेमा सोच्नु पर्दछ। जीवनको के गर्ने, कसरी गर्ने भन्ने अवस्थामा आइपुगेको व्यक्तिका लागि यो एउटा महत्वपूर्ण विषय बन्न जान्छ। जीवन यात्राको योजना बनाउने अवस्थामा रहेको व्यक्तिले आफ्नो कुन प्रकारको काममा ज्ञान छ, आफूलाई कस्तो काम मन पर्छ भन्ने ध्यान दिनु आवाश्यक छ। हुनत अध्ययन, तालिमको क्रममा नै आफ्नो इच्छा, क्षमता, व्यक्तित्व, स्थानिय तथा अन्तराष्ट्रिय परिवेश अनुसार नै विषय छनोट गर्नुपर्दछ। त्यसरी छनोट गरेको विषयमा दक्षता हाँसिल गरिसकेपछि त्यो ज्ञान र दक्षतालाई व्यक्तिगत, पारिवारिक र सामाजिक क्षेत्रमा प्रयोग गर्नुका साथै व्यवसायिकरण पनि गर्नु पर्ने हुन्छ। त्यसै मार्फत नै व्यक्तिले आयआर्जन गर्ने गर्दछ।

त्यसरी जीवन यात्रा चयन गर्ने क्रममा व्यक्तिले आयआर्जनका विविध विकल्पहरुको तुलनात्मक अध्ययन गरी कुनै एक वा एक भन्दा बढी छनोट गर्न सक्दछ। पाटाहरु भनी नामाकरण गरिएका ती सबै माध्यमहरुलाई चार मुख्य प्रकारमा विभाजन गर्न सकिन्छ। ति चार प्रकारहरु हुन् (१) रोजगारी (२) स्वरोजगारी (३) व्यवसाय र (४) लगानी। हरेक व्यक्तिले आयआर्जन गर्न अपनाउने कुनै पनि माध्यमलाई यी चार मध्ये एकमा राख्न सकिन्छ। सामान्य अर्थमा रोजगारी भन्नाले अरुको जोखिम र लगानी भएको निजी, सार्वजानिक, सरकारी, गैह्र सरकारी संस्थामा पूर्णकालिन वा आंशिक रुपमा त्यस संस्थाको आन्तरिक सदस्यका रुपमा दैनिक, साप्ताहिक, मासिक या वार्षिक निश्चित तलब लिने गरी नियुक्ति लिई काम गर्नुलाई जनाउँछ। संस्थाको संरचना र नियम अनुसार काम गर्नु पर्ने हुन्छ र वोनशको प्रावधान भएको संस्थामा बाहेक रोजगारीमा रहेको ब्यक्तिले प्राप्त गर्ने आम्दानी भनेको तलब मात्र हो जुन निश्चित हुन्छ। राम्रो काम गरी जतिसुकै मुनाफा वा आय आर्जन गरेपनि त्यो सबै व्यवसायी वा लगानीकर्ताको हुन्छ न कि कर्मचारीको। रोजगारीमा जाने व्यक्तिलाई कर्मचारी भन्ने चलन छ। हुनत व्यवस्थापनको अवधारणा अनुसार कर्मचारीलाई मानव संसाधन वा मानव सम्पति पनि भनिन्छ। त्यसैगरी 'स्वरोजगारी' दोस्रो प्रकार हो। आफ्नो लागि आफैँले काम श्रृजना गर्नु र आफूले आफ्नै लागि काम गर्नुलाई स्वरोजगारी भनिन्छ। खासगरी प्राविधिक, व्यवसायिक विषय पढेका व्यक्तिहरुलाई यो विकल्प रोज्न सजिलो हुन्छ। डाक्टर, इन्जिनियर, वकिल, चाटर्ड एकाउण्टेण्ट, कम्प्युटर प्राविधिक, डिजाइनर, पत्रकार आदिले यो विकल्प रोज्ने गर्दछन्। यसमा आफ्नो समय र भविष्य दाउमा लगाइन्छ तर आफ्नै काम गरे पनि ठुलो धनराशीको लगानी गर्नुपर्दैन। त्यसै गरी 'व्यवसाय' तेस्रो पाटो हो। यसमा धन राशी लगानी गर्नुपर्दछ र साथै जोखिम पनि मोल्नु पर्दछ। आफूलाई मात्र नभई आफ्नो संस्थाका लागि काम गर्नेहरुका लागि पनि पुग्ने गरी कमाउनु पर्दछ। नोक्सान भएर चुर्लुम्म डुब्न पनि सक्छ, मध्यम स्तरमा संधै चलिरहन पनि सक्छ वा अति सफल स्थापित हुन पनि सक्छ। ज्ञान तथा अनुभव हुनेले आफ्नै ज्ञान, अनुभवको आधारमा र नहुनेले अरु क्षमतावान व्यक्तिको साहयता लिई पनि व्यवसाय गर्न सक्दछन। विशेष प्राविधिक ज्ञान नभएपनि व्यवसाय चलाउने सामान्य ज्ञान भने हुनुपर्दछ। त्यसै गरी चौथो प्रकार भनेको 'लगानी' हो। यो पनि व्यवसाय नै हो। एउटा मुख्य फरक के छ भने लगानी गर्नेले व्यवसाय गर्नेले झैँ आफैले व्यवस्थापन गर्दैन। अरुले उद्यमशिलता गरेको कम्पानीमा मात्र लगानी गर्दछ। जे जति नाफा – नोक्सान हुन्छ त्यसमा भागेदार हुन्छ। जोखिम सहित र जोखिम रहित दुबै खाले लगानी हुन्छन्। ऋणपत्रमा लगानी गर्नु जोखिम रहित हो भने पव्लिक कम्पनीको शेयर किन्ने जोखिम सहितको लगानी हो। कसैले चलाएको निजी स्वामित्वको कम्पनीमा शेयर हाल्नु अझै जोखिमपूर्ण हो तर त्यसबापत राम्रो आम्दानी हुनसक्छ।

अब प्रश्न उठ्छ, कसले कुन अवस्थामा कुन पाटो अपनाउने त? यी सबै पाटाहरुको आ –आफ्नै सकारात्मक र नकारात्मक पक्षहरु छन्। समग्रमा रोजगारी भन्दा स्वरोजगारी, स्वरोजगारी भन्दा व्यवसाय र व्यवशसाय भन्दा लगानीलाई राम्रो मानिन्छ। तथापि विभिन्न दृष्टिकोणबाट हेर्नु पर्दछ। व्यक्तिको आफ्नो इच्छा, जोखिम उठाउन सक्ने मानसिकता तथा आर्थिक क्षमता, वातावरण, पारिवारिक पृष्टभूमी, जीवनको लक्ष्य आदि जस्ता विषयहरुलाई ध्यान दिई कुन पाटो छान्ने भनी सोच्नु पर्दछ। स्वभाविक रुपमा सामान्यतया हेर्ने हो भने रोजगारी, स्वरोजगारी र व्यवसाय हुँदै लगानी तर्फ उन्मुख हुनु उपयुक्त देखिन्छ। धेरै जसो सफल व्यक्तिहरुले त्यही मार्ग अपनाएका पनि छन्। हुनत जीवनभर रोजगारीमा नै रहेर सफल भएकाहरु पनि छन्। एकैचोटी फड्को मार्न गाह्रो भएमा रोजगारीमा छँदैमा स्वरोजगारी वा व्यवसाय वा लगानीमा आँशिक समय दिँदै गएर अर्को पाटो विकास भएपछि त्यसमा पूर्ण रुपमा जान सकिन्छ। समग्रमा जीवन यात्रामा अघि बढ्न चाहने र सबै प्रकारका स्वतन्त्रता प्राप्त गर्न चाहनेले अन्ततः सबै पाटाहरु पार गर्दै लगानीको चरणमा पुग्नु सुझाव योग्य देखिन्छ।