Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 

आ.व.२०६६/६७ को बजेट नयाँ अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नु भयो। यसबारेमा आफ्ना-अर्का, अर्का भित्रका आफ्ना र आफ्ना भित्रका अर्का सबैले आ―आफ्नै प्रतिकृया पनि दिए। कसैले राम्रो त, कसैले मध्यम, कसैले कमजोर र नकारात्मक पनि। जसले जति बुझे, सके, भ्याए, जाने, चाहे, खोजे, पाए त्यति नै भने, लेखे। डर, रहर र भर हुनेले भिन्दै विचार दिए, नहुनेले भिन्दै विचार दिए। एउटै घरमा शिक्षक, कर्मचारी, विद्यार्थी, व्यापारी, विधुवा, अर्न्तजातीय विवाह गर्ने आदि सबै हुन्छन्। हाम्रो जस्तो देशमा सबैको चित्त त के पो बुझाउन सक्छ र बजेटले। अनि वर्षमा २/३ वटा सरकार, ४/५ वटा अर्थमन्त्री सबैले ल्याएको कार्यक्रमलाई निरन्तरता दिन पनि केले भ्याउनु? गर्न खोजे पनि सम्बन्धित विभाग वा मन्त्रालयमा त्यसको तथ्याङ्क पनि नहुन सक्छ। त्यसैले त स्थिर राजनिति भएका विकसित देशमा मूल्यस्तर हामी कहाँ भन्दा धेरै भए पनि एउटा विकास निर्माणको कामका लागि पनि हाम्रो भन्दा कम लागत लाग्छ। उनीहरु एक माइल बाटो बनाउँछन करोडौं डलर खर्च गरेर तर योजना अनुसार ढुक्क भएर आरामसँग। त्यो बाटो दशकौं टिक्छ। प्रविधि फेरिएको वा वातावरणीय वा नयाँ आधुनिक योजना पुरा गर्न बाहेक त्यो भत्काउन पर्दैन र भत्कदैन पनि। त्यही एक माइल बाटो हाम्रो देशमा त्यहाँको १/४ लागतमा बन्छ। तर, टिक्छ कति त? हामी सबैलाई थाहा छ २―४ बर्ष। त्यो पनि अपवादमा। हरेक १―२ बर्षमा त्यही बाटो बनाइरहने हो भने नेपालको निर्माण लागत विकसित मुलुक भन्दा १/४ नै भए पनि ५―६ वर्षमा समग्र लागत तुलनात्मक रुपमा बढी पर्न जान्छ। अझ २०―३० वर्ष टिक्ने विदेशी बाटोसँग तुलना गर्ने हो भने त झन हाम्रो लागत झण्डै ३―४ बढी गुणा पर्न जान्छ। कस्तो विडम्वना! जुन देश गरीब छ, उसैले धनी देश भन्दा बढी रकम उही स्तरको काममा खर्च गर्‍यो भने त्यो देशको दशा कस्तो होला? भौतिक पूर्वाधार निर्माणमा मात्र होइन प्रायः सबै पक्षमा हाम्रो विकासले यस्तै दशा व्यहोर्नु परेको छ। जसरी एउटा मुर्ख विद्यार्थी एउटै कक्षामा १० चोटी अनुत्तिर्ण हुन्छ तर हरेक वर्ष १५ दिन मात्र पढेर परीक्षा दिन्छ। कहिल्यै उत्तिर्ण हुँदैदैन। यदि १० वर्षको १५ दिनका दरले हुन आउने ५ महिना एकै चोटी पढी उ प्रथम श्रेणीमा उत्तीण हुन सक्छ। हाम्रो विकासमा पनि यस्तै समस्या छ। यसलाई हटाउनु पर्छ, गाह्रो छ तर असम्भव छैन्। कसै न कसैले सुरु गर्नु नै छ, चाडै गरे राम्रो।

जुंगा बाद, विचार, पक्ष―विपक्ष, फरिया, भावना, ख्याती, व्यक्तिगत भिन्नता, दृष्टिकोण आदि को लडाइँमा हाम्रो विकास र बजेट अल्भि्कएको मात्र होइन शिथिल भएको छ। हरेक नयाँ दलको सरकार, नयाँ योजनाविद आदि आउँदा नयाँ विकासका शैली वा नयाँ प्राथमिकता हुनु स्वभाविक हो। तर राष्ट्रिय महत्वका विषयहरु जुन सधै सबैलाई अपरिहार्य छ त्यसमा पनि एकरुपता र निरन्तरता नहुनु बहुलठ्ठी पन हो। अत्यावश्यक राष्ट्रिय महत्वका दीर्घकालिन कार्यक्रम र निरन्तर निर्माण चाहिने योजनाहरुलाई पनि पाखा लगाउनु, तुहाउनु सरासर अपरिपक्वता हो। अर्को दल वा व्यक्तिको असफलतालाई आफ्नो सफलताको भर्‍याङ्ग ठान्नेहरुले बेला ―बेलामा त्यस्तै खिचातानीको खेल बनाई विकास प्रकृयालाई ठप्प मात्र होइन कि उल्टो दिशामा हिँडाएका उदाहरणहरु पनि छन्। अर्काको औंलो काटेर आफ्नो भन्दा छोटो बनाए पछि आफ्नो प्रगति भएको ठान्ने हाम्रो आम प्रवृतिले विकास र बजेटलाई पनि चोखो छाडेको छैन। सर्वसाधारणले आम क्षेत्रमा भोगेका आफैले दैनिक जीवनमा आफू भित्रै र अरुबाट पनि बेला ―बेलामा पाएको पूर्वाग्रहको भावना र त्यसबाट उब्जिएको व्यवहार भोग्दै आएका छन्। मानिसमा एउटा गजवको मनोदशा हुन्छ, आफूमा भएका राम्रो पक्ष वा आफूले गर्ने राम्रो व्यवहारको अरुबाट पनि अपेक्षा गर्दछन्। तर आफूमा कुनै कमजोरी भए पनि अरुले त्यसो नगरोस् भन्ने अपेक्षा गर्छन । सर्वसाधारण नेपालीले पनि त्यस्तै अपेक्षा गरेका छन नीति निर्माता, उच्च अधिकारी, राजनैतिक व्यक्तित्वहरुबाट। उनीहरुको अन्तर्राष्ट्रिय संघ संस्था, अन्तर्राष्ट्रिय बादहरु, विकासको ढाँचा आदिसँगको अनुबन्धन तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुलाई रिझाउनु पर्ने वाध्यतासँग सर्वसाधारणलाई त्यति महत्व र सन्दर्भ राख्दैन। जनतालाई मतलव छ त स्वदेशी उद्योगको उत्पादन, विक्री, निकाशी र विदेशी उस्तै वस्तुको आयात वीचको असमान र विभेदकारी वा विदेशीलाई प्रोत्साहित गरी स्वदेशीलाई निरुत्साहित गर्ने नीति नियमसँग। उनीहरुलाई विश्व व्यापार संगठनको दवाव र देशको वचन वद्धतासँग मतलव छैन र धेरैलाई थाहा छैन। पुरा नबन्दै कुलो नपुरियोस, बाटो नउकियोस् भन्ने चाहन्छन्। ३ करोड पर्ने कुनै विद्युत गृह मर्मतका लागि १०―२० लाख बजेट छुट्टट्याई दिएर अधकच्चो नहोस् भन्ने चाहन्छन् सर्वसाधारण। दश तिर कनिका छरे झैं अति न्यून रकम छरेर कही पनि काम नलाग्नु भन्दा सके जति वांड्ने तर सुरु गरेको पुरा होस् भन्ने चाहन्छन। सय जना जन्तीले सय पाथी चामलको भात र सय धार्नी आलुको तरकारी खाएको किस्सा त नेपाली वृत्तमा प्रख्यात छ। यो कसरी सम्भव भयो त? एक सय जना जन्तीलाई एक पाथी चामल र एक धार्नी आलु मात्र पकाएर दिँदा छोप मात्र लाग्छ। त्यसै गरी केही समयको अन्तरालमा पटक पटक त्यसै गरी पकाएर खुवाउने तर उही १ पाथी र १ धार्नी मात्र दिने हो भने सबै चामल र आलु त सकिइन्छ तर कुनै पनि जन्ती अघाएको हुन्न। नेपाली विकास योजना र पूर्वाधार विकासको अवस्था पनि त्यस्तै छ।
यो समस्या देशको मात्र नभएर एउटा स्थानिय निकाय, संघ―संस्था, व्यापारिक संस्था, निगम, एउटा घर ―परिवार र व्यक्तिको पनि हुन सक्छ। खास गरी कम स्रोत भएको र बढी खर्च गर्नु पर्नेको यस्तो अवस्था आउने गर्दछ। त्यस्तो व्यक्ति वा संस्था वा राज्यले डेफिसिट बजेट बनाउनु पर्ने हुन्छ स्वभाविक रुपमा। डेफिसिट बजेटले नै सुस्त र न्युन आर्थिक अव्ास्था र अविकासबाट अगाडि बढाउँछ वा विकास र प्रगति तिर लैजान्छ। विज्ञानको सामान्य नियम अनुसार पनि स्तिरताबाट गतिशिलतामा जानकालागि बल वा शक्तिको आवाश्यकता पर्दछ। यसरी बाह्य श्रोतबाट लिएको सहयोग वा ऋण नै यस्तो अवस्थामा शक्तिको रुपमा काम गर्दछ र शिथिलताबाट गतिशिलता तर्फ लम्किन मद्दत गर्दछ। धेरै राष्ट्र, व्यक्ति, संघ, संस्थाले यही तरिकालेनै प्रगति र विकासको पथमा लम्किएका हुन्छन। हुन त यसरी ऋण सहयोग प्राप्त गर्न त्यती सजिलो छैन। पहिलो कुरा त आफ्नो साख राम्रो नभए सम्म त्यो प्राप्त गर्न पनि सकिन्न। प्राप्त गर्नु मात्र ठुलो कुरा पनि होइन, त्यसको समुचित प्रयोग अझ महत्वपूर्ण कुरा हो। त्यसलाई परिचालन र मूल्याकंन तथा नियन्त्रणका लागि आवाश्यक मानव संसाधन, कार्यक्रम, दृष्टिकोण, वातावरण र प्रणालीको त्यतिकै महत्व छ। वास्तवमा, हाम्रो जस्तो देशमा यस्तै तत्वको कमिले गर्दा नै डेफिसिट बजेटको फाइदा लिन नसकिइरहेको अवस्था छ। साथै नभइनहुने न्युनतम आवाश्यकताका कार्यक्रमहरु त सधै चलाउनु पर्ने हुन्छ र त्यसका लागि बजेट छुट्याउनै पर्छ। त्यसका अलवा आर्थिक वृद्धि र थप विकासका कार्यक्रमहरु भने सबै तिर अलि अलि छर्नु भन्दा एउटा वा केहि क्षेत्रमा एक वर्ष वा अवधि केन्द्रित गर्ने र अर्को अवधिमा अर्को क्षेत्रमा लाग्ने गर्दा बढी प्रभावकारी हुन सक्छ। यसो गर्ने क्रममा देशको विशिष्ट परिस्थिती, भौगोलिक अवस्था, सामाजिक अवस्था, सांस्कृतिक अवस्था, वदलिंदो गणतान्त्रिक (?) राजनैतिक अवस्था, सुरक्षा आदिलाई पनि ध्यान दिनु पर्ने नै हुन्छ।