Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 
सम्पत्ति भन्नाले भौतिक रुपमा देख्न सकिने निश्चित वा अनुमानित मूल्य भएको वस्तु हो। सम्पत्तिको मूल्य परिभाषित गर्ने भाषा पैसा हो। किन्दा पैसा पर्ने बेच्दा पैसा आउने वस्तु र त्यस क्रममा प्राप्त हुने पैसा स्वयं पनि सम्पत्ति हो। घर, जग्गा, साधन, नगद, धातु, बैंक मौज्दात, लगानी, शेयर, प्रोमिसरी नोट, लगायत त्यसमाथि प्राप्त पूर्ण तथा आंशिक, दिर्घकालिन तथा अल्पकालिन अधिकार सबै सम्पत्ति हुन्। यी मात्र नभई ठाउँ, समय र अवस्था अनुसार अन्य धेरै वस्तुहरु सम्पत्ति हुन सक्दछन्। सम्पत्तिको मूल्य हुन्छ र त्यो मूल्य समय, स्थान र अवस्था अनुसार फरक फरक हुन जान्छ। खोलामा फालिएको बालुवा सम्पत्ति होइन भने शहरमा ल्याई प्रयोग /बिक्रीका लागि थुपारिएको बालुवा सम्पत्ति हुन जान्छ। वहुमूल्य धातु सुन पनि युद्धग्रस्त भई क्रयशक्ति शून्य भएको देशमा त्यसको कुनै मूल्य नहुन सक्छ, र त्यो सम्पत्ति पनि हुँदैन। हुन त आजको विश्वव्यापिकरणले एक ठाउँ वा देशमा मूल्य नभएका वस्तुहरु अर्को ठाउँ वा देशमा लगी बेच्न सकिन्छ र त्यसले सम्पत्तिको दर्जा पाउन सक्छ। अर्को तर्फ आय भन्नाले आम्दानीलाई जनाउँछ। हरेक आर्जन आय नहुन सक्छ। व्यक्ति वा संस्थाले विभिन्न माध्यमबाट नगद प्राप्त गर्न सक्छ। वस्तु निसर्ग वा बिक्रीबाट पनि नगद प्राप्त गर्न सक्छ। तर त्यो प्राप्ती आय होइन मात्र सम्पत्तिको रुप परिवर्तन हो। मानौं हामीले आफूले प्रयोग गर्ने यातायातको साधन वेची रकम हाता पार्‍यौं भने साधन रुपी सम्पत्तिले नगद रुपी सम्पत्तिमा रुप फेरेको मात्र हो। तर व्यक्ति वा संस्थाले साधन कै किन वेच गर्ने काम गर्छ र त्यो कारोबार गर्दा खरीद भन्दा बिक्रीबाट बढी रकम प्राप्त हुन्छ भने त्यो थप रकम मात्रलाई आय भन्न सकिन्छ। प्राविधिक अर्थमा कूल आय र खुद आय गरी परिभाषित गर्न सकिन्छ तर साधारण अर्थमा मुनाफालाई आय भन्न सकिन्छ। एउटा राज्य, संस्था, व्यक्तिले सम्पत्ति वा आय केमा जोड दिन्छन् र दिनु पर्छ भनी हेरौं। खास गरी व्यक्तिका शन्दर्भमा सम्पत्ति वा आय कुन संस्कार अंगाल्ने भन्ने बुझौं। “सम्पत्ति संस्कार” भन्नाले सम्पत्ति जोड्दै जाने त्यसलाई प्रयोग, उपयोग, उत्पादनमा ल्याउने काम नगर्ने भन्ने बुझ्नु पर्छ। त्यसै गरी “आय संस्कार” मा व्यक्तिले सम्पत्ति जोड्दै जानु भन्दा आम्दानी वृद्धि तिर जोड दिन्छन्। भएका सम्पत्तिलाई अधिकतम उपयोग गर्दछन्। त्यति मात्र होइन अझ क्षमतावान उद्यमीले त ऋण लिएर पनि आम्दानी गरिरहेका हुन्छन्। जब सम्पत्तिलाई चलायमान वा उत्पादक बनाइन्छ तब आम्दानी प्राप्त हुन्छ। हुन त त्यो आम्दानी पनि सम्पत्ति (नगद) कै रुपमा प्राप्त हुन्छ। तर त्यो नगदलाई निरन्तर थप उत्पादनमा लगाइन्छ भने त्यसलाई सम्पत्ति नभन्न्ा सकिन्छ। संस्कारको दृष्टिकोणबाट हेर्दा निरन्तर आयमूलक काममा लगाइएका नगद तथा वस्तुलाई सम्पत्ति भनी परिभाषित नगर्न सकिन्छ। पूंजीवाद, समाजबाद, साम्यवाद जस्ता विभिन्न राजनैतिक, मोडलहरु र त्यसले प्रक्षेपण गरेका आर्थिक नीतिहरुलाई एकातिर थाति राखेर हेर्ने हो भने आर्थिक विकासको सामान्य न्यूनतम आधार भनेको श्रोतको अधिकतम र द्रुत प्रयोग हो। उत्पादनका हरेक साधनलाई अधिकतम उपयोग गरेर नै चाँडो आर्थिक उन्नति गर्न सकिन्छ। अर्थतन्त्रका अन्य पाटाले साथ दिनु पर्ने त छदैछ। नत्र बढी उत्पादन आफैमा आत्मघाति हुन पनि सक्छ। यसलाई हामी चक्र पनि भन्न्ा सक्छौं। सामान्यतया धनी मुलुकको धेरै र गरीब मुलुकको थोरै चक्र हुने गर्छ। लगभग एउटा हवाइजहाजको पंखा र साइकलको पांग्रा चल्दा गतिमा जुन फरक हुन्छ, त्यति नै फरक हुन सक्छ। तर जब दुर्घटना हुँदा पनि त्यसबाट हुने क्षतिमा त्यत्ति कै फरक हुन्छ। जहाज दुर्घटनामा हुने मानवीय र आर्थिक क्षति र साइकल दुर्घटनामा हुने मानवीय र आर्थिक क्षतिको फरक नै धनी र गरीब देश बीचको अर्थतन्त्रको फरक हो। त्यसैले त हालको आर्थिक मन्दीले धनी राज्यलाई जुन असर पारेको छ गरीब राज्यलाई त्यसको एक छेउ पनि परेको छैन। कुनै चिज गुमाउन वा हराउन वा घाटा लाग्न पनि पहिला त्यो हुनु आवश्यक हुन्छ। हुँदै नभएको कुरा/वस्तु कसरी हराउँछ वा जोखिममा पर्न सक्छ र? यो नियम एउटा राज्यका लागि मात्र नभई व्यक्तिका लागि पनि त्यत्तिकै शान्दर्भिक छ। राज्यको होस् वा व्यक्तिको आर्थिक विकासका खास गरी प्रारम्भिक, विकसित उत्कर्ष र खस्कंदो गरी ४ अवस्थाहरु हुन्छन्। विशेषत प्रारम्भिक अवस्थामा हुँदा झन सम्पत्तिलाई भन्दा आयलाई बढी जोड वा प्राथमिकता दिनु पर्दछ। त्यसो गरेमा छिटो प्रारम्भिकबाट विकसित अवस्थामा फडको मार्न सकिन्छ। आय संस्कार अनुसरण गर्नु भनेको उपलब्ध साधन र श्रोतलाई ३ अर्थोपार्जन वा उत्पादन मूलक काममा लगाउनु हो। यो संस्कारले एउटा आर्थिक चक्र निर्माण गर्दछ, रोजगारी श्रृजना गर्दछ, क्रय शक्ति बढाउँछ, राज्यको ढुकुटीमा नगद मौज्दात जम्मा हुन्छ, सामाजिक सुरक्षा र पूर्वाधार विकास गर्न सकिन्छ, जीवनस्तर उक्सिन्छ, पुन : थप लगानी र विकासका नयाँ सम्भावना उदाउँदै जान्छ। सबै सम्भावनाहरु खुल्दै जान्छन्। यसका विपरित यदि सम्पत्ति मात्र थुपार्ने, आय आर्जनमा नलगाउने हो भने आर्थिक विकासको गति उल्टो चल्न थाल्छ र कालान्तरमा अवरोध श्रृर्जना हुन्छ। व्यक्तिले पनि सम्पत्ति मात्र जम्मा गरेर बस्दा दीर्घकालमा उस्तै अवस्थाबाट आय आर्जन, उद्यमशिलतामा लागेका व्यक्ति भन्दा आर्थिक, सामाजिक, व्यक्तिगत लगायतका क्षेत्रहरुमा धेरै पछि पर्न जान्छ। व्यक्तिमा भएको सम्पत्ति संस्कारले राज्य, समाजलाई पनि नकारात्मक असर परिरहेको हुन्छ।